पूर्वराजा ज्ञानेन्द्रको प्रस्तावः राजनीतिक दल र राजसंस्थाबिच सहकार्य गरौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य हुनुपर्ने बताउनुभएको हो ।

प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको छ,‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उहाँको निष्कर्ष छ ।

राज्य सत्ताको बागडोर ज–जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उहाँको भनाइ छ ।

बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उहाँले बताउनुभयो। पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ,‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’

Back to top button