आत्मविश्वास नभएरै नेपाल खेलकुदमा पछि परेको होः केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीहरुमा आत्मविश्वासको कमिका कारण पछि परेको बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले हरेक खेलाडी र प्रशिक्षकले जित्ने आत्मविश्वासको साथ खेल्न हौसला दिनुभयो ।

खेलकुद जीवनका लागि, खेलकुद समाजका लागि, खेलकुद मित्रताको लागि, अनुशासनको लागि मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान विस्तारको लागि पनि हो भन्दै चर्चा गर्नुभएका उहाँले खेलकुदको क्षेत्र ब्यापक रहेको बताउनुभयो ।

खेलकुदको इतिहास प्राचिन रहेको उल्लेख गर्दै उहाँले तर पछि खेलकुदलाई राज्यले नै निषेध गरेको बताउनुभयो । उहाँले जहाँनीया राणा शासनले पूर्ण रुपमा निस्तेज गरेको र राणा शासनपछि पनि खेलकुदलाई दरबारले प्रयोग गर्न खोजेको उल्लेख गर्नुभयो । यद्यपी खेल क्षेत्रलाई जनताले जिवित राखेको तर राज्य निदाएको बताउनुभयो ।

दौडिएन भने कसैले प्रगती गर्न र बाँच्न नसक्ने भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी दौडदैंछौं । हाम्रो देश दौडिदै छ । हाम्रा खेलाडी दौडिदैछन् ।’

खेलकुद परिषद जस्ता संस्थापनि आफन्त पोस्ने नभई निष्पक्ष र न्यायपूर्ण हुनुपर्ने बताउँदै उहाँले खेल क्षेत्रको समुचित विकासका लागि राज्य मात्र नभई गैर सरकारी संस्थाहरुपनि लाग्नुपर्ने बताउनुभयो । यस्तै उहाँले खेलकुद प्रतिरक्षाको लागि हुन्छ भन्दै आक्रमणको लागि नहुने र अनुशासन खेलकुदका लागि महत्वपूर्ण विषय रहेको चर्चा गर्नुभयो ।

खेलकुदको समुचित विकासका लागि खेलकुद महासंघ बनेको भन्दै अध्यक्ष ओलीले एमाले खेल र खेलाडिको विकास तथा यस क्षेत्रको समस्या समाधानको लागि सदैव साथ रहने बताउनुभयो ।आजदेखि विराटनगरमा सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै ९ गते सम्पन्न हुनेछ ।

Back to top button