कांग्रेस राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने तयारी थालेको छ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै नयाँ परिस्थिति उत्पन्न भएको हो। अब सरकारमा नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टीमात्रै छन्।

सरकारमा सहभागीताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि निर्णयमा पुग्ने कांग्रेसको तयारी छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ८ दलको बैठकबाट यसबारे निर्णय हुने बताउनुभयो। महतले भन्नुभयो,‘आठ दलको बैठक बसेर निर्णयमा पुग्छौं। प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि थप योजना बनाउँछौं।’

यस्तै, ८ दलको संयुक्त बैठक कहिले बस्ने भन्नेबारे अझै तय भएको छैन। ८ दलको बैठकले हिजो कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन अभियान थाल्ने बताइएको छ।

नयाँ गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी रहेका छन्।

Back to top button