सेवानिवृत्त सचिव घिमिरेलाई अमेरिका भ्रमणमा पठाउने सरकारको तयारी

काठमाडौं । बहालवाला परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा भ्रमणमा जान रोकेको सरकारले एक अवकाशप्राप्त सचिवलाई सरकारी टोलीमा राखेर अमेरिका भ्रमणमा पठाउने तयारी गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयबाट एक महिनाअघि अवकाश पाउनुभएका नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेलाई ‘सजायमा छुट’ सम्बन्धी कार्यक्रममा भाग लिन सरकारी प्रतिनिधिमण्डलमा समावेश गरी अमेरिका पठाउने तयारी गरेको हो । राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट भएको सिफारिस सरकारले अनुमोदन गरिसकेको छ ।

प्रतिष्ठान स्रोतले भन्यो,‘पदबाट राजीनामा दिएकाले यसअघिका महान्यायाधिवक्ता खम्मबहादुर खातीको ठाउँमा दिनमणी पोखरेल जाँदै हुनुहुन्छ, तर प्रतिष्ठानले सरकारी सेवाबाट अवकाश पाएका निवर्तमान सचिव घिमिरेलाई टोलीमा नै राखेर अमेरिका पठाउने तयारी गरेको छ ।’

उहाँको अवकाश मिति यसअघि नै तय भएको थियो । त्यसबारे थाहा हुँदाहुँदै प्रतिष्ठानले अवकाशपछिको मितिका लागि उहाँको नाम सिफारिस गरेको थियो । महान्यायाधिवक्ता कार्यालयभित्र पहिलो बरियता (एक नम्बर) सचिव रहनुभएका उहाँ ५ वर्षे पदावधि पूरा गरेर १८ माघमा अनिवार्य अवकाश हुनुभएको थियो ।

कुनै फौजदारी मुद्दाको आरोपितले अपराध स्विकारेर न्यायिक प्रक्रियामा सहयोग गरेमा अदालतले सजायमा छुट दिनसक्ने कानूनी व्यवस्था छ ।

त्यसको कार्यान्वयनका क्रममा प्रतिष्ठानले कार्यविधि बनाएको थियो । यहीबारे अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश, न्यायप्रशासन, सरकारी वकिल र कानून मन्त्रालयको प्रतिनिधिमण्डल अमेरिका जान लागेको हो ।

Back to top button