उपराष्ट्रपतिमा पुरूष उम्मेदवार उठाउनु संविधानको मर्म विपरित : एमाले

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ । आज बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीत भएको बताउनुभएको छ ।

एमालेले आज विज्ञप्ति जारी गर्दै भनेको छ,‘आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ । ’

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेको उपाध्यक्ष समेत रहनुभएकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हो ।

उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्री हो । सत्ता गठबन्धनले भने उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुटाउन सकेको छैन। दलहरूबीच सहमति नजुट्दा जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टा–छुट्टै उम्मेदबार उठाउने भएका छन्।

जसपाबाट राम सहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाले उपराष्ट्रपतिको उम्मेदवार बन्ने हुनुभएको हो । चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।

Back to top button