आईसीसी विश्वकप क्रिकेटः नेपालले पहिलो ओभरमै लियो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा यूएईविरुद्ध २ सय ४८ रनको योगफल जोगोउने कोसिसमा रहेको नेपालले पहिलो ओभरमै विकेट लिएको छ।

नेपालका लागि पहिलो ओभर फाल्नुभएका ललित राजवंशीले यूएईका ओपनर वृत्या अरविन्दलाई पाँचौं बलमा पेभेलियन फर्काउनुभयो।

यूएईले पहिलो ओभरमा रन जोड्न सकेन। पहिलो इनिङमा रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रनको योगफल तयार गर्यो। आठौं ओभरमा दुवै ओपनरसहित ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकास्नुभएको थियो।

भीम ३७ बलमा ४ चौकासहित २९ रन बनाएर आउट हुनुभयो। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याउनुभएको थियो।

रोहित १ सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्कीनुभयो। आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनको आक्रामक इनिङ खेल्नुभयो।

ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट हुनुभएको थियो। सन्दीप लामिछाने २ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र १ छक्कासहित ३४ रन जोडेर पभिलियन फर्कीनुभयो। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्कीनुभयो ।

यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले २–२ विकेट लिनुभयो। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले १–१ विकेट लिनुभयो।

यस्तै, यो खेलमा जित निकाले नेपालले लिग–२ का २ खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाउने छ। यो योगफल जोगाउन सके नेपालको शीर्ष ३ मा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहने छ।

आजको खेलमा पराजित भए यूएईले एक दिवसीय मान्यता गुमाउने छ।

Back to top button