
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरुप देशका प्रतेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको बताउनुभयो।
उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताउनुभयो।
मन्त्री शर्माले जुनसुकै क्षेत्रमा रहेका महिलाहरुले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राख्नुभयो।
यस्तै, उहाँले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभयो।