उपराष्ट्रपति महिलालाई नै बनाउनुपर्ने मागसहितको रिट दरपिठ

काठमाडौं । उपराष्ट्रपति महिलालाई नै बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ। राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले हिजो सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो।

सर्वोच्चका प्रवक्‍ता विमल पौडेलले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन माग गरिएको रिट निवेदन दरपीठ भएको जानकारी दिनुभयो।

गत आइतबार उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीबाट राम सहाय यादवको उम्मेदवारी परेको थियो। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार यादवको उम्मेदवारी कायम राखेको थियो।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्‍यवस्था नरहेकाले यादवको उम्मेदवारी यथावत रहने जानकारी दिनुभएको थियो।

निर्वाचन आयोगले यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेपछि अधिवक्ता खतिवडा उपराष्ट्रपति महिला बनाउनुपर्ने माग गर्दै सर्वोच्च पुग्नुभएको हो ।

यादवको उम्मेवारीविरूद्ध उपराष्ट्रपतिको उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिनुभएको थियो।

उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी परेको छ। सुरूमा ४ जनाको उम्मेदवारी परेपनि जसपाकी प्रमिला कुमारी यादवले उम्मेदवारी निस्क्रिय पारेपछि ३ जनाको उम्मेदवारी कायम रहेको छ।

यस्तै, जसपाका यादव, नेकपा एमालेकी शाक्य र जनमत पार्टीकी झाबीच कडा प्रतिस्प्रधा हुने भएको हो। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

Back to top button