विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, पराजित मानसिकताको उपज: अनेरास्ववियु

विराटनगर । स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा विराटनगर स्थित नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेबिसंघले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले ब्यक्तिगत रूपमा विद्यार्थीहरूलाई कुनैपनी संगठनको पक्षमा नखुल्न भन्दै दवाव दिएपछी नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।

निर्वाचनलाई निस्पक्ष भयरहित र मर्यादित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी काम गर्न खोजेपछी ताला लगाएको नेविसंघका नेताहरूको भनाई छ ।

नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेलले नेविसंघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिने गरेको आरोप लगाउनु भयो ।

नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघ प्रतिष्पर्धामा छन् ।

तालाबन्दी प्रती विरोध जनाउँदै अनेरास्ववियुका नेता भास्कर खनालले पराजयको मानसिकताले नेविसंघले देशका विभिन्न क्याम्पसमा तालाबन्दी गर्दै हिँडेको आरोप लगाउनुभयो ।

उहाँले नर्सिङ क्याम्पसमा नेविसंघका नाममा नेपाली कांग्रेसका नेताहरूले नै निर्वाचन समिती, क्याम्पस प्रशासन र विद्यार्थीहरूलाई धाक धम्की दिएर निर्वाचन प्रभावित पार्ने उद्देश्यले गुण्डागर्दी शैलीमा तालाबन्दी गरेको आरोप लगाउनुभयो ।

अनेरास्ववियु देशभरका सम्पूर्ण क्याम्पसमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु पर्छ भन्ने पक्षमा रहेको भन्दै उहाँले यसकालागी जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउँदै सरकारको समेत ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो ।

Back to top button