इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा

विराटनगर । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा यूथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३–१ गोलको अन्तरले फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

मछिन्द्रलाई फाइनल चरणमा पुग्न रोक्दै सगरमाथालाई उपाधी नजिक पुर्याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले १–१ गोल गर्न सफल हुनुभयो ।

सगरमाथाका खेलाडी लोप्चनले खेलको ४ औँ, स्टेफिनले १२ औँ र मेसुकेले ५१ औँ मिनेटमा गोल गर्नुभएको थियो। पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८ औँ मिनेटमा पेनाल्टी मार्फत १ गोल फर्काउनुभयो ।

खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित हुनुभयो । उहाँले नगद रू १० हजार प्राप्त गर्नुभयो ।

आजको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज युनाइटेड काठमाडौ बिच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो ।

यस्तै, मछिन्द क्लबलाई खेल अवधि भरि कडा दवाफमा राखेको सगरमाथाले अन्तिम सेमिफाइनल बिजेतासँग उपाधीका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ । उपाधी बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख हात पार्ने आयोजकले उल्लेख गरेको छ ।

Back to top button