फिदिम नगरका स्वास्थ्य शाखा सह–संयोजक श्रेष्ठ मृत फेला

फिदिम । फिदिम नगरपालिकाको स्वास्थ्य शाख सह–संयोजक प्रवेशकुमार श्रेष्ठ मृत फेला पर्नुभएको छ ।

धनकुटाको चौबिसे गाँउपालिका–१ छ नम्बर बुधबारे बजारमा घर हुने श्रेष्ठ केही वर्षदेखि फिदिम नगपालिकाको स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्थ्यो ।

आज अबेरसम्म कार्यालयमा हाजिर नभएपछि खोजि गर्दा श्रेष्ठलाई उहाँ सुत्ने कोठाको ओछ्यानमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिनुभयो ।

फिदिम नगरपालिका–४ स्थित गीता गुरुङको घरमा कोठा लिएर श्रेष्ठ बस्दै आउनुभएको थियो।

प्रहरीका अनुसार उहाँ सुत्ने कोठाको दैलो भित्रबाट लक गरिएको थियो । फोन गर्दा नउठेपछि कोठामा हेर्न जाँदा सुतिरहेको अवस्थामा श्रेष्ठलाई मृत अवस्थामा भेटिएको थियो ।

यस्तै, घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button