केन्द्रिकृत मानसिकताले संघीयता कार्यान्वयनमा जटिलताः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको बताउनुभएको छ । उहाँले केन्द्र अझै पनि अनुदार हुँदा संघीयता कार्यान्वयनमा जटिलता रहेको बताउनुभयो ।

नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयताः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले राजनितिक, प्रशासनिक र आर्थिक रुपमा संघीयताको चर्चा गर्दै राजनितिक रुपमा संघीयता कार्यान्वयनमा गएपनि आर्थिक र प्रशासनीक संघीयता कार्यान्वयनमा जान नसकेको बताउनुभयो ।

उहाँले केन्द्रले अझै तल्लो तहमा अधिकार दिन नचाहँदा संघीयताको कार्यान्वयन जटिल बनेको समेत बताउनुभयो । प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको बताउँदै मुख्यमन्त्री कार्कीले शिक्षा ऐन, प्रहरी ऐन, निजामती कर्मचारी ऐन नआउनु पनि संघीयता कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

अझ संघका मन्त्रीहरू प्रदेशमा आएर कर्मचारीलाई निर्देशन दिएर जाँदा पनि आफूहरुलाई थाहाा नहुने गरेको बताउनुभयो । प्रदेशका सचिवहरू संघअन्तर्गत भएका कारण पनि संघीयता कार्यान्वयन पूर्ण रूपमा हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा पनि संघीयता कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

आर्थिक क्षेत्रमा अहिले पनि १५ प्रतिशत पनि संघीयता कार्यान्वयन नभएको भन्दै उहाँले केन्द्रीकृत मानसिकताका कारण संघीयता कार्यान्वयनमा लैजान नसकेको बताउनुभयो् । संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत रहेको उहाँले बताउनुभयो ।

Back to top button