विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज शैक्षिकसत्र – २०७९ को नतिजा सार्वजनिक गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको थियो ।

सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ । ‘मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ,’ कोइरालाले भन्नुभयो ‘मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा सार्वजनिक गरेका छैनन् ।’

शैक्षिक प्रशासन महाशाखाको सक्रियता कारण छिटो र छरितो रुपमा नतिजा सार्वजनिक भएको महानगरका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले बताउनुभयो ।

परीक्षामा निजी र सार्वजनिक गरी १ सय २२ विद्यालयका ५ हजार १ सय ४ जना विद्यार्थी सहभागी भएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गर्नुभएको थियो ।

Back to top button