प्रधानमन्त्री प्रचण्ड विरुद्ध निर्वाचन आयोगमा उजुरी:मतदातालाई अनुचित प्रभाव पारेको आरोप

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ ।

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डले निर्वाचन आचार संहिता उल्लंघन गरेकाले कारवाहीको दायरमा ल्याउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न आउनुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री, प्रदेशमन्त्री, मुख्यमन्त्री बनाउने आश्वसन दिई आम मतदातालाई अनुचित प्रभाव पारेको रास्वपाको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रधानमन्त्रीको उक्त कार्य निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ विपरीत भएकोले निर्वाचन कसूर तथा सजाय ऐन २०७३ तथा निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

Back to top button