खाँदबारीमा ‘खाली खुट्टा’को परिचर्चा

खाँदबारी । टिकाराम पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’को संखुवासभा सदरमुकाम खाँदबारीमा परिचर्चा गरिएको छ ।

मकालु साहित्यिक समाजले ‘खाली खुट्टा’को परिचर्चा गरेको हो । कार्यक्रममा परिचर्चाकारहरुले पुस्तक केही गर्ने सोच भएकाहरुका लागि प्रेरणाको स्रोत भएको बताए । टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत वर्ष बिमोचन गरेका थिए ।

प्राज्ञ तथा पूर्व राष्ट्रीयसभा सदस्य खेम नेपालीले पुरीले आफ्नो यथार्थ पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । पुस्तकभित्र नेपाली भाषामाथि भइरहेको प्रहारदेखि समाजको अवस्थालाई चित्रण गरिएको उहाँले बताउनु भयो । खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको भन्दै उहाँले किताबमा लेखकले पाठकलाई न्याय गरेको उनले बताउनुभयो ।

साहित्यकार टिका आत्रेयले पुरीको पुस्तक पठनीय भएको बताउनुभयो । जीवनको बास्तविकता उल्लेख गरिएको कृतिले केही गर्न चाहानेका लागि उर्जा थप्ने भन्दै उहाँले पुस्तकका विषयबस्तु र प्रस्तुती सरल रहेको चर्चा गर्नुभयो ।

विद्यालय शिक्षा सुरु गर्दै खाली खुट्टा हिड्नुपर्ने र पहिलो पटक तराई जाँदा खाली खुट्टा हिडेका विषयले शीर्षकलाई सम्बोधन गरेको भन्दै उहाँले समग्र पुस्तकले नामलाई न्याय गरेको बताउनुभयो ।

पुस्तकमा टिकाराम पुरीको मात्रै नभई आम नागरिकको कथा समेटिएको चर्चा गर्दै उहाँले खाली खुट्टाले ५० वर्षको समाजलाई प्रस्तुत गरेको बताउनुभयो । निरन्तर बग्ने पानीले ढुङ्गा काट्ने बताउँदै उहाँले नियमित साधना गर्दा सफल हुन सकिने सन्देश पुस्तकले दिएको बताउनुभयो ।

साहित्यकार खगेश्वर घिमिरेले पुस्तकले सबै पक्षलाई यथार्थ रुपमा प्रस्तुत गरेको बताउनुभयो । पुस्तक दस्ताबेज रुपमा रहेको भन्दै उहाँले खाली खुट्टामा आम नागरिकको भोगाई समेटिएको बताउनुभयो । उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुका लागि पुस्तक उपयोगी रहेको उहाँको भनाई छ ।

मकालु साहित्यक समाजका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले संखुवासभाबाट सुरु भएको संघर्षको कथाले पाठकलाई प्रेरणा मिल्ने बताउनुभयो । पुरीको पुस्तकले निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश दिएको उहाँले बताउनुभयो ।

लेखक टिकाराम पुरीले आफूले भोगेका र गरेका संघर्षको कथाले पाठकलाई न्याय गर्ने बताउनुभयो । पुस्तकले आफ्ना सबै विषय पारदर्शी रुपमा राखेको उहाँको भनाई छ ।

Back to top button