कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने २ गुट छन्ः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा परम्परागत गुट सकिएको बताउनुभएको छ । पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताउनुभयो ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा बोल्दै महामन्त्री थापाले भन्नुभयो,‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’

सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिनुभयो । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।

उहाँले भन्नुभयो,‘टुल–टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उहाँको तर्क छ ।

कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले सुनाउनुभयो ।

पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको थापाले बताउनुभयो ।

केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा भएपनि २०८४ सालको चुनाव हेरेर अहिले निराशा कार्यकर्तामा देखिएको उहाँले बताउनुभयो । ‘वडा, पालिका, प्रदेशमा कांग्रेसले जितेको छ । आजको दिनमा कांग्रेस सबै भन्दा ठूलो राजनीतिक पार्टी हो । साढे चार वर्ष चुनावपछिको चुनाव हार्छौं भनेर चिन्ता व्यक्त गर्नुभएको छ,’ उहाँले भन्नुभयो,‘साथीहरुले सबै सकियो, गयो गयो भनिरहेको सुन्छु । सबैतिर जितेर पनि किन यस्तो भएको?’

समस्या हल गर्ने र भविष्यको आशा देखाउने विश्वास गुमाएकाले कांग्रेसका कार्यकर्तामा निराशा छाएको थापाले बताउनुभयो । ‘आजको समस्या कांग्रेसले हल गर्छ भन्ने नागरिकलाई लागेको छैन । भोट पाएका छौं, विश्वास गुमाएका छौं,’ उहाँले भननुभयो ।

Back to top button