कमजोर अर्थतन्त्रका कारण कृषि क्षेत्र डामाडोल हुने निश्चित: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले कमजोर अर्थतन्त्रका कारण कृषि क्षेत्र डामाडोलको अवस्थामा पुग्ने खतरा रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अर्थतन्त्र ओरालो लागेसँगै कृषि क्षेत्र डामाडोल हुने निश्चितजस्तै भएको बताउनुभयो। उहाँले गतवर्ष ८ प्रतिशतले बढेको उत्पादन वृद्धि यो वर्ष घटेर २ प्रतिशतमा झरेको बताउनुभयो।

‘कृषि डामाडोल हुनेवाला छ। यो एकछिन सत्तापक्षमा बसेर ढ्यापढ्याप गरेजस्तो विषय होइन मान्यज्यूहरू। गतगर्ष ८ प्रतिशतले उत्पादन वृद्धि भन्दाखेरी धेरै टेबुलहरूको रङ उडेको थियो। ठठ्याउँदा ठठ्याउँदा । अहिले २ प्रतिशत पनि आर्थिक वृद्धिदर छैन। मैले यही बोलेको थिएँ । यो एकछिनको विषय होइन।’

अध्यक्ष ओलीले प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,‘देशका लागि भन्दा पनि सत्तापक्ष र प्रतिपक्ष भनेर मात्रै हुन्छ। प्रतिपक्षले देशकै लागि कुरा उठाए पनि खिल्ली उडाउनुपर्ने ।’

उहाँले १ वर्षमा गठबन्धनको मजाक उडेको बताउनुभयो।

Back to top button