नेपाल मेडिसिटी हस्पिटलको २ करोड ६३ लाख ठगी

काठमाडौं । ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलको साढे २ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीका अनुसार अस्पतालको बिलिङ शाखाका ३ कर्मचारीको मिलेमतोमा अस्पतालकै यो रकम ठगी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरेको छ। उनीहरुले बिरामीसँग बिल अनुसारकै रकम लिने र कम्युटरमा कम बिल इन्ट्री गर्ने गरेको खुलेको छ। प्रवक्ता कार्कीले भन्नुभयो,‘अस्पतालको रकम हराउन थालेको सुइको अस्पताल प्रशासनले पाएपछि उनीहरुले जागिर छाडेका थिए।’

यो विषयमा अनुसन्धान गर्न अस्पतालले प्रहरीमा उजुरी दिएको थियो। बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए।

प्रक्राउ पर्नेमा दोलखा घर भएर भक्तपुर ठिमी बस्ने अस्पतालमा कार्यकारी आईपी बिलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाडौं बालुवाटारका आशीष अर्याल हुनुहुन्छ।

उहाँहरुलाई अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ। ललितपुर जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएर थप अनुसन्धान भैरहेको कार्कीले बताउनुभयो।

Back to top button