५ महिनादेखि सडकमा ढाट : ठूला सवारीसाधन आवातजावतमा रोक

विराटनगर। ठेकेदार कम्पनीले समयमा काम नगर्दा विराटनगर– ५ स्थित शान्ती चोकका स्थानीयले विगत ५ महिनादेखि सडकमा डाट लगाउँदै आएका छन् । स्थानीय सडकमा ढाट लगाएपछि ठूला सवारीसाधन आवातजावतमा रोक लागेको छ ।

सडक निर्माणको कामलाई ठेकेदारले अलपत्र छाड्दा धुलोले समस्या पारेको भन्दै स्थानीयले बाध्य भएर गत फागुनदेखि ढाट लगाउँदै आएका हुन् । स्थानीयले सडक अवरोध गरेपछि यसअघि जनप्रतिनिधि, सुरक्षाकर्मीको रोहबरमा भएको छलफलमा ठेकेदारले तत्काल सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।

‘प्रतिबद्दता अनुरुप काम नभएपछि हामी ढाट लगाउन बाध्य भएका हौं’, स्थानीय निर्मला सुवेदीले बताउनुभयो । विराटनगर– ५ कोचाखाल स्थित बाबाचोकदेखि पूर्वको सडक निर्माणको ठेक्का पाएको हिमालयन इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन प्रा.लि.ले लामो समयदेखि काम अघि बढाएको थिएन ।

स्थानीयको चर्को विरोध पछि करिब २ महिना अघि सडक निर्माणको काम अघि बढाएको उक्त कम्पनीले प्राइम लगाएर बेपत्ता भएको स्थानीयको भनाई छ ।

यसरी ठेकेदारले काम अधकल्चो छाडेपछि स्थानीय आक्रोशित भएका छन् भने सडकमा ढाट लगाउँदा ठूला सवारी साधन आवागमनमा अवरोध छ । दैनिक विद्यार्थी बोक्ने दर्जनौं विद्यालयका सवारी साधनले घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

सडक अवरोध भएका कारण विद्यालयहरुलाई विद्यार्थी ल्याउन र घर पुर्‍याउन समस्या भएको एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीले बताउनुभयो । एभरेष्ट स्कुल र कलेज आउ जाउ गर्ने सडकको बिच भागमा ढाट लाग्दा बढी समस्या आफुहरुले भोग्नु परिरहेको भन्दै उहाँले उक्त सडक यथाशिघ्र निर्माणका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

पटक–पटक आग्रह गर्दा काम नभएपछि धुलो रोक्न सडक बन्द गर्नुपरेको स्थानीय शंकर शाहले बताउनुभयो । उहाँले सडकमा ढाट लगाउने रहर नभई धुलोले सास फेर्न नै मुस्किल भएपछि लगाउन बाध्य भएको बताउनुभयो । उहाँले ढाँट खोलिदिन भन्दै मान्छे आइरहेपनि बाटो बनाउन नथालेस्म्म ढाट नखोलिने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) नागेश कोइरालाले त्यहाँको ढाट खोल्न पटकपटक छलफल भएको भन्दै समाजसँग जोडिएको उक्त विषयलाई दिर्घकालिन समाधान खोज्नुपर्ने बताउनुभयो । आज ढाट खोल्न सहमति भएपनि स्थानीयले पुनः ढाट लगाउने गरेको भन्दै उहाँले सडक निर्माणको प्रकृया अघि बढिसकेकाले पुनः स्थानीयसँग छलफल गरेर समाधान खोजिने बताउनुभयो ।

विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष सन्तोष न्यौपानेका अनुसार बाबा चोकदेखि एभरेष्ट कलेजसम्मको सडक कालोपत्रेका लागि हिमालयन इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन प्रा.लि.ले ठेक्का लिएको थियो।

प्रदेश सरकारको बजेटमा करिब तीन सय मिटरमा काम सुरु गरेको ठेकेदारले त्यसपछि काम नगरेको बताउनुभयो । यस बिषयमा बुझ्न खोज्दा पछिल्लो समय ठेकेदार बिमेश कार्की सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

एभरेष्ट कलेजको अगाडिपट्टिबाट शान्ति चोकको मन्दिर हुँदै केशलिया रोडसम्मको सडक भने भर्खरै ठेक्का लागेको महानगरका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

चार करोड ७५ लाख रुपैयाँ बजेटमा यशोमति जेभीले ठेक्का पाएको उहाँले बताउनुभयो । महानगरपालिकाको योजनामा परेको उक्त सडकको टेन्डर आह्वान गरि आशयपत्र जारी भइसकेको छ । वर्षा सकिने बित्तिकै उक्त सडकको काम अघि बढ्ने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

Back to top button