प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशले बनाउने योजनाहरु प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश योजना आयोगले आज विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले प्रदेशको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा ध्यान पुग्नुपर्ने बताउनुभयो ।

प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्धिका आधारहरु तय गर्न आवश्यक भएको बताउनुभयो ।

प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरु तयार गर्ने सन्दर्भमा यस अघि नै चुकेको स्मरण गर्दे उहाँले जसको कारण केही वर्ष कतिपय क्षेत्रमा असन्तुलन हुने अवस्था रहेको बताउनुभयो ।

उहाँले औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व सङ्कलनमा गिरावट आएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता समेत बढाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको चर्चा गर्दै पर्यटनको १ नं गन्तव्य बनाउन सकिने बताउनुभयो ।

खानेपानी, सिचाँइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वोले वर्तमान संविधानले समाजवादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरु पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताउनुभयो ।

उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश भित्रको प्राकृतिक स्रोतसाधनको रुपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गणेश उप्रेतीलगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अर्थशास्त्री प्रा. डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Back to top button