कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्राप्त होला विश्वासको मत ? किन दियो राप्रपाले साथ ?

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई निरन्तर साथ दिने भएको छ ।

आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन लाग्दै गर्दा विहान बसेको राप्रपा संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको छ ।

आफु सहभागी रहेको सरकारलाई समर्थन गर्नु नैतिकताका हिसाबले पनि उपयुक्त हुने भन्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भन्नुभयो,‘जोड घटाउमा लागेर राजनितिक अस्थिरता खोज्नुसमेत उपयुक्त नहुने बताउनुभयो ।

उहाँले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्ने र यहि सरकारले पूर्ण कार्यकाल नेतृत्व गर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका कृषिमन्त्री सिटौलाले एमालेसँगको सहकार्यका बिषयमा पार्टीभित्र कुनै मतभेद समेत नरहेको स्पष्ट पार्नुभयो ।

दुई दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्रीको पक्षमा अहिले ४६ सांसद छन् । उहाँलाई एमालेको ४० र राप्रपाको ६ सांसदको समर्थन छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ ।

उता केन्द्रीय सत्ता गठबन्धनसँग आवद्ध दलहरुसँग सभामुखसहित ४७ सांसद छन् । कांग्रेसका २९, सभामुखसहित माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपासँग एक सांसद छन् । तर, मत विभाजनमा सभामुखले भाग लिन नपाउने भएकाले दुवै समूहमा ४६–४६ सांसद छन् ।

वर्तमान सरकार टिकाइराख्न एक जना सांसद अपुग रहेकाले विभिन्न सम्भावनाहरूको बारेमा एमालेले छलफल गरिरहेको छ । विपक्षीमा रहेका दलहरुसँग पनि स्पष्ट बहुमत नभएकाले साझा सरकार बनाएर जाने विषयमा पनि एमालेले छलफल अघि बढाएको छ ।

मुख्यमन्त्री कार्कीले सबै दृष्टिकोणबाट अहिलेको सरकारले राम्रो काम गरिरहेको दावी गर्दै विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले कोशी प्रदेशको राजनितिक स्थायीत्वको लागिपनि सबै दलहरुले विश्वासको मत दिने बताउनुभयो ।

सत्ता साझेदार नेकपा माओवादी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको हो ।

यता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने गठबन्धनले विश्वासको मत नदिने बताउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले विश्वासको मत दिने–नदिने बिषयमा दलको बैठकपछि निर्णय हुने बताउनुभयो ।

Back to top button