विराटनगरमा सिटिनेट नेपाल अध्यायको अधिवेशन सम्पन्न

विराटनगर । विराटनगरमा सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ।

आज विराटनगरमा भएको अधिवेशनले विराटनगर महानगरपालिकालाई राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ४ वर्षे कार्यकालको लागि निर्वाचित गर्दै सम्पन्न भएको हो।

अन्तर्राष्ट्रिय रुपमा विभिन्न देशहरुमा सो देशको नगरपालिका सदस्य रहने संस्था सिटिनेटको नेपाल अध्यायको पहिलो अधिवेशनबाट विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएको हो ।

त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा बुटवल उप–महानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत्त नगरपालिका निर्वाचित भएको हो।

राष्ट्रिय कार्यसमिति सदस्यमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका , बिरगंज महानगरपालिका , वीरेन्द्रनगर नगरपालिका , जीतपुर सिमरा उप–महानगरपालिका, संस्थागत सदस्यमा इन्सेक नेपाल, मानार्थ सदस्यमा ललितपुर महानगरपालिका , होस्ट संस्थाको रुपमा भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उप–महानगरपालिका निर्वाचित भएका छन्।

हाल देशभरका २१ वटा नगरपालिकाहरु सदस्य रहेको संस्थामा थप १ लाख भन्दा बढी सदस्य रहेको २१ वटा नगरपालिकाले सदस्यताको लागि आवेदन पेश गरेको संस्थाको निवर्तमान अध्यक्ष हेटौडा उपमहानगरपालिकाकि मेयर मीना कुमारी लामाले जानकारी दिनु भयो।

सिटिनेटले अधिवेशनबाट सदस्य पालिकाहरुको प्रविधियुक्त सहरी विकास प्रणालीको प्रवर्धन, फोहरमैलाको व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापनमा सहकार्य गर्ने विश्वास लिएको लामाले जानकारी दिनु भयो।

Back to top button