‘पार्टी विभाजनप्रति नेम्वाङ निकै दुःखी हुनुहुन्थ्यो’ : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

शोक वक्तव्य निकाल्दै उहाँले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गर्नुभएको छ । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उहाँले नेम्वाङसँगको सम्बन्ध उल्लेख गर्नुभएको छ ।

आफूले नै नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्दै उहाँले आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गर्नुभएको छ ।

एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दुःखी रहेको बताउनुभएको छ ।

‘पार्टी विभाजनप्रति उहाँ निकै दुःखी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दुःखद् निधन भएको छ,’ खनालले शोक वक्तव्यमा लेख्नुभएको छ ।

Back to top button