इरानमाथि नेपालको शानदार जित

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानमाथि शानदार जित हासिल गरेको छ । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको मद्दतमा नेपालले इरानको यू–१९ टोलीमाथि २ सय ७४ रनको विशाल जित निकालेको हो ।

यू १९ प्रिमियर कपमा नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा इरान ७९ रनमा अलआउट भयो । नेपालले ४०.१ ओभरमा अलआउट भएर ३ सय ५३ रन बनाएकामा दोस्रो इनिङमा इरान ३०.५ ओभरमा अलआउट भएको थियो।

पहिलो इनिङमा खनालले ६० बलमा १ सय रन बनाउनुभयो । खनालले १२ चौका र ४ छक्का प्रहार गर्नुभयो । दीपक बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाउनुभयो ।

तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको साझेदारी गर्नुभएको थियो । अर्जुन कुमाल शुन्यमा आउट हुँदा आकाश त्रिपाठीले ३ रन, दीपक प्रसाद डुम्रेले ६९ रन, दीपेश कँडेलले २९, आकाश चन्दले १९, हेमन्त धामीले २३ तथा सुवास भण्डारी १८ रन बनाउनुभयो।

इरानका लागि दद्रहमान राइसी र सलमान निज्मान्दले ३–३ विकेट लिनुभयो । समान शेखी र जियाद राइसीले समान २–२ विकेट लिनुभएको थियो । जवाफी ब्याटिङमा आमेर खोर्सन्दले ३७ रन बनाउँदा साबेर इब्राहिमपुर ११ रनमा नट आउट रहनुभयो । नेपालका दीपेश कँडेल र सुवास भण्डारीले ३–३ लिँदा हेमन्त धामी र आकाश चन्दले २–२ विकेट लिनुभयो ।

Back to top button