कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठकबाटै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि असोज २० गतेदेखि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो।

गठबन्धनबाट विद्रोह गर्नुभएका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँसँगै एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राई मन्त्री बन्नुभएको छ ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । यसअघि नियुक्त भएका प्रदेशका मुख्यमन्त्रीभन्दा चाँडै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

एमालेको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त भएसँगै सत्ता गठबन्धनले कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताउँदै आएको छ। एमालेले आफ्नो समर्थनमा उहाँ मुख्यमन्त्री बनेको बताइरहेको छ। गठबन्धन र एमालेको दबाबका कारण कार्कीले तत्कालै प्रदेशसभाबाट विश्वासको मत लिन खोज्नुभएको हो ।

माओवादीको सोमबार बसेको प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर कार्कीलाई मत दिने निर्णय लिएको छ भने राप्रपा भने हालसम्म तटस्थ बसिरहेको छ।

Back to top button