रानी सीमा नाका ब्राउन सुगर दुर्व्यसनी र कारोबारीको अड्डा बन्दै

विराटनगर। नेपाल भारत सिमा रहेको जोगबनी-रानीको सीमा नाका पछिल्लो समय ब्राउन सुगर दुर्व्यसनी र कारोबारीको अड्डा बन्दै गएको छ। विगत लामो समय देखि नेपालमा प्रतिबन्धित लागु औषधको कारोबार तथा व्ययसनको लागि कुख्याती कमाएको जोगबनी-रानी नाकामा भने हाल भने अन्य लागु औषध सँगै ब्राउन सुगर दुर्व्यसनी र कारोबारीको पनि बाक्लो जमघट देखिने गरिएको छ।

भारतमा सजिलै उपलब्ध हुने तर नेपालमा नपाइने अन्य लागु औषधको तुलनामा महँगो पर्ने ब्राउन सुगर हाल जोगबनी-रानी नाका छेउछाउमा व्यापक रुपमा बरामद हुने र ठुलो संख्यामा ब्राउन सुगर दुर्व्यसनीहरु भारतबाट सेवन गरेर नेपाल प्रवेश गर्ने गरेको देखिएको छ। विराटनगर रानीमा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेले पनि पछिल्लो समयमा ब्राउन सुगरको ठुलो समस्या रानी नाकामा देखिएको बताउनु भएको छ।

बेलबासेका अनुसार आर्थिक बर्ष २०८०/८१ मा मात्र रानी नाका र आसपास बाट १३१.६५ ग्राम ब्राउन सुगर बरामद गरिएको बताउनु भएको छ। प्रहरी कार्यालय रानी र मातहतको प्रहरी कार्यालय बाट मात्रै आर्थिक बर्ष २०८०/८१ मा ४२ जना व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकोमा ३६ जना पुरुष , १ जना महिला रहेका छन् भने ४ जना नाबालक र एक भारतीय नाबालक समेत पक्राउ परेका छन् । पक्राउ परेका मध्य ३ जना नाबालकलाई भने भरियाको रुपमा प्रयोग गरिएको कार्यालयले जनाएको छ।

बेलबासेका अनुसार पक्राउ परेकोमा ८० प्रतिशत व्यक्तिहरुले एक पटक भारतमै प्रयोग गरेको र पुन: प्रयोगको लागि नेपाल ल्याउँदा पक्राउ परेको भने २० प्रतिशत भने कारोबार गर्न ल्याउँदा पक्राउ परेको जानकारी दिनु भएको हो।

हाल इलाका प्रहरी कार्यालय रानीमा थुनामा रहेका ४२ जना कैदी मध्य धेरै व्यक्ति लागु औषधमा पक्राउ परेको र त्यसमा अधिकांश ब्यक्ति ब्राउन सुगर सहित पक्राउ परेको कार्यालयले जनाएको छ।

ब्राउन सुगर कारोबारीको र आफ्नै प्रयोगको लागि ओसार-पोसार गर्ने दुर्व्यसनीलाई पक्राउ गर्दा कानुन बमोजिम मुद्दा प्रक्रिया अगाडी बढाउने गरेको प्रहरी कार्यालय रानीले भने भारतमै प्रयोग गरेर पुन: नेपाल प्रवेश गर्नेको हकमा भने दुर्व्यसनीको भन्ने शंका लागेमा भारत जानै नदिने गरेको बेलबासे बताउनु हुन्छ।

‘ हामीलाई शंका लागेको अवस्थामा हामी त्यस्ता व्यक्तिहरुलाई सीमामै होल्ड गर्ने र परिवारको सदस्यहरुलाई बोलाएर , परिवारको जिम्मा लगाएर छोड्ने गरेको छौ ‘ बेलबासेले भन्नु भयो , ‘ परिवारलाई नै अग्रसरता लिएर अगाडी बढ्दा प्रोत्साहन गर्दा दुर्व्यसनीको संख्यामा केहि घटेको देखिएको छ ।

पछिल्लो समय प्रहरीले रानी सीमा नाकामा तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेर लागु औषध प्रयोगकर्ता तथा कारोबारीको खोजतलास गर्न सहयोग गरेको छ यद्यपि केहि मनोवैज्ञानिक रुपमा केहि सुधारको लक्षण देखाए पछि पूर्णरुप प्रयोग फलदायी भने नदेखिएको सीमामा प्रहरी कार्यरत स्रोतले बताउनु भएको छ। बेलबासे समेत कुकुरले खोजतलास गर्दा केहि मनोवैज्ञानिक त्रास देखिएको तर उल्लेखनिय सुधार नदेखिएको बताउनु भएको छ।

प्रहरीले जोगबनी-रानी सीमा नाकामा केहि कडाई गरेको भएता पनि कोरानाको समयको व्यापक रुपले खुल्ला गरिएको दरैया-जोगबनी नाका तथा मटेर्वा-जोगबनी नाकामा भने समस्या उस्तै रहेको र रानी सीमा बाट प्रवेश गर्ने हरु हाल व्यापकरुपमा सो बाटो बाट प्रवेश गर्ने गरेको एक स्थानीयले बताउनु भएको छ।

Back to top button