राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले सो प्रतिवेदन आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताउनुभयो । उहाँले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति राष्ट्रपति पौडेलले खुशी व्यक्त गर्नुभयो ।

आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गर्ने सन्दर्भमा आफूले गरेका काम कार्यवाहीहरु समेटेर पेश गरेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा संवोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Back to top button