बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड–ओलीबीचको भेटवार्ता बाक्लिएको हो ।

नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धनलाई लिएर चर्को आलोचना हुनुका साथै माओवादीले भन्ने गरेको ‘जनयुद्ध’लाई सरकारमै सहभागी कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदनमा ‘माओवादी हिंसा’भन्ने शब्द राखिएपछि प्रचण्डले सार्वजनिक रुपमै असन्तुष्ट व्यक्त गर्दै आएकाउनुभएको छ ।

महासमिति बैठकमै माओवादीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग संशकित बन्नुभएको छ भने एमालेसँगको भेटघाट बाक्लो बनाउनुभएको छ । संक्रमणकालीन न्यायको विषयलाई प्रतिपक्षको पनि साथ लिएर अगाडि बढ्नुपर्ने समयमा सत्तारुढ दलबाटै यस्तो अभिव्यक्त आउनु गम्भीर रहेको प्रचण्डको बुझाई छ ।

यस्तै, आज बिहानै प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच पनि छलफल भएको छ।

Back to top button