माओवादी केन्द्रद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र संसदलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाउनुभएको छ ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे पनि छलफल हुने बताइएकोछ ।

अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

Back to top button