नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो ।

यस्तै, प्रमुख सचेतक चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने गठबन्धनमा सहमति भएको खुलासा गर्नुभएको छ । विश्वासको मत दिनुअघि एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको एकीकृत समाजवादीले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो ।

सोही अनुसार मुख्य नेताहरुबीच १५–१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको भन्दै चौधरीले अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने र त्यसपछि १५ महिना माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने समझदारी भएको उहाँले बताउनुभयो।

उहाँले सत्ता गठबन्धनमा भएको सहमती कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेकाले सो सहमती कार्यान्वयन हुने विश्वासका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै सो सहमती कार्यान्वयन नभएमा फरक तरिकाले अधि बढ्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै हुनुहुन्छ ।

Back to top button