
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।
भेटमा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
उहाँहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।
एमाले, माओवादीसहितको केन्द्रको सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको निर्णयबाट पछि हटाउने प्रयास जारी राखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको स्रोतले बताएको छ ।







