गिरीलाई नगदसहित सम्मान

विराटनगर । नेपाल स्रष्टा समाजले विराटनगर– ३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा कृयाशिल गिरीलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा उहाँलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पार्नुभयो । गिरीका तीन भजन संग्रह प्रकाशित छन् । साथै उहाँले गीत तथा कविताहरु पनि रचना गर्नुभएको छ ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा प्रकाश पार्नुभयो । उहाँले संस्थाले कृतिहरु प्रकाशन गर्दै साहित्यसेवीलाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आएको चर्चा गर्नुभयो ।

कार्यक्रममा कृष्ण भण्डारीले स्वागत मन्तव्य राख्नुभयो । सम्मान कार्यक्रममा अगुवा बुद्धिजिवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमा आभाष, शुभलक्ष्मी लम्साललगायतको उपस्थिति थियो ।

Back to top button