कोशीका प्रदेश प्रमुख खापुङलाई अर्को सरकार नबनाउन भन्दै मुख्यमन्त्री कार्कीको पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार बनाउने प्रयास नगर्न प्रदेश प्रमुख परशुराम खापुङलाई आग्रह गर्नुभएको छ ।

आज मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई एक पत्र दिँदै अर्को सरकार गठनको प्रक्रिया नथाल्न आग्रह गर्नुभएको हो ।

यस्तै, २६ चैतमा एमाले र माओवादी केन्द्र गरी ५२ प्रदेशसभा सदस्यले केदार कार्कीको विकल्पमा अर्को सरकार गठन गर्न प्रदेशसभा सक्षम रहेको भन्दै प्रदेश प्रमुखलाई एक पत्र बुझाएका थिए ।

त्यसपछि ७ वैशाखमा कोशी प्रदेशसभाले मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्गप्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सक्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

आज मुख्यमन्त्री कार्कीले तीन पृष्ठ लामो जानकारी पत्र बुझाउँदै संकल्प प्रस्तावकै कारण गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्रीले पत्रमा भन्नुभएको छ,‘संविधानको धारा १६८ (५) को विकल्पमा १६८ (२) र १६८ (३) को सरकार बन्न सक्दैन । संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याशंलाई प्रदेशसभाको संकल्प प्रस्तावले निस्तेज बनाउन सक्दैन । मुख्यमन्त्री पदको संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुनसक्दैन ।’

यस्तै, मुख्यमन्त्री कार्कीले राजीनामा नदिए २६ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् ।

हेर्नुहोस् मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाएको पत्र 

Back to top button