मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ नेम्वाङ

काठमाडौं । इलाम–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलामः सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उहाँले भन्नुभएको छ,‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु,मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताउनुभएको छ । इलामेलीको सेवाको लागि आफ्नो हात समाएर पठाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आभार व्यक्त गर्नुभएको छ ।

‘मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु’, सुहाङले भन्नुभएको छ ।

साथै चुनावमा अहोरात्र खटिने नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम मतदातामा उहाँले आभार र धन्याद दिनुभएको छ ।

Back to top button