कार्की तेस्रो पटक मुख्यमन्त्री नियुक्त (परिचयसहित)

विराटनगर । कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सभाको दोस्रो कार्यकालमा तेस्रो पटक मुख्यमन्त्री हुनुभएको हो ।

२०७९ पुस २४ मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएका कार्की उपधारा (३) बमोजिम २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो ।

२०२१ असोज ११ गते झापाको गौरादह नगरपालिका–३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका कार्की प्रदेश सभाको एकै कार्यकालमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

बाल्यकाल गौरादहमा बिताउनुभएका कार्कीले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा पुरा गर्नुभएको थियो । विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा सङ्गठित भई विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका कार्की २०३६ सालमा पार्टी सम्पर्कमा पुग्नुभयो ।

उहाँ महेन्द्र बहुमुखी क्याम्पस धरानमा आईएल अध्ययन गर्ने उद्देश्यले २०४२ सालमा धरान पुग्नुभयो । आईएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति कार्की नेपाल ल कलेजमा भर्ना हुनुभयो ।

उहाँले कानुनमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ । अनेरास्ववियुको विभिन्न तहका कमिटीहरूको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौं, बागमती अञ्चल कमिटी) निर्वाह गर्दै कार्कीले २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रीय कमिटी सदस्य हुँदै कार्की नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भई स्थायी कमिटी सदस्य रहनुभएको छ । यसका साथै उहाँले कोशी प्रदेश सहइन्चार्ज एवम् मोरङ जिल्ला इन्चार्जको भूमिका समेत निर्वाह गरिरहनुभएको छ ।

संसदीय राजनीतिमा २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की तत्कालीन प्रदेश १ को सरकारमा २०७४ फाल्गुन ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो ।

३ वर्ष ७ महिना मन्त्रीको सफल कार्यकाल पुरा गर्नुभएका कार्की २०७९ साल मङ्सिर ४ गते सम्पन्न दोश्रो प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५ (१) बाट दोश्रो पटक निर्वाचित हुनुभयो । कार्कीको परिवारमा आमा, दाजुभाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

Back to top button