हिक्मत कार्कीको मुख्यमन्त्री नियुक्तीको विरोधमा निर्वतमान मुख्यमन्त्री सर्वोच्चमा

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट हाल्नुभएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

साथै उहाँले कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गर्नुभएको छ । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

आज बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । लगतै समर्थनकर्ता सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त कार्कीले आजै अपरान्ह ५ बजे सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

Back to top button