कोशीका मुख्यमन्त्री कार्कीले एक साताभित्रै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र नै विश्वासको मत लिने हुनुभएको छ । हिजो शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री कार्कीले हप्ता दिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताउनुभएको छ ।

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकोले सरकारले पनि छिट्टै पूर्णता पाउने उहाँको भनाइ छ । ‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौ,’ उहाँले भन्नुभयो,‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छौ ।’

प्रदेश सभामा रहेका सबै दललाई साथमा लिएर हिँड्ने बताउँदै कार्कीले नेकपा एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी गराउने संकेत गर्नुभएको छ । ‘अब एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ’ उहाँले भन्नुभयो,‘प्रदेशको विकासका लागि सबैसँग सहकार्य गर्छौं ।’

अहिलेकै सरकार र गठबन्धन यो कार्यकालभरी सञ्चालन हुने बताउँदै कार्कीले जनताका निराशालाई हटाउँदै जाने दावी गर्नुभयो ।

Back to top button