कोशीको मन्त्रिपरिषद् बैठकः बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार तेस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले आफ्नो र मन्त्रीको शपथ सकिएर पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

साँझ बसेको बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्ले प्रदेश सभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको छ ।

यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ । संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ । कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ हुनुहुन्छ । सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हुनुहुन्छ ।

Back to top button