पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षलाई मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिनुभएको छ ।

आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुको बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्नुभएको हो ।

यस्तै,३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उहाँले लेख्नुभएको छ, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चैं त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौ महानगरपालिकाले गर्दैन ।’

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने उल्लेख गर्दै नगर प्रमुख शाहले हरेक नागरिकको चासो हुने हुँदा नगरसभा प्रत्यक्ष प्रसारण हुने गरेको बताउनुभयो ।

नगर सभाको आजको बैठकमा न्युरोडलाई ‘नो भेइकल जोन’ बनाउने छलफलको एजेण्डा थियो । त्यही एजेण्डामा असहमत कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेका हुन्  ।

Back to top button