ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताउनुभएको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको उल्लेख गर्दै उहाँले मन्त्री भएर बजेट छुट्याउन पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको बताउनुभयो ।

ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने उहाँले बताउनुभयो ।

ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको उहाँको भनाई छ ।

सन्तुलन मिलाउन नसक्दा अहिले लोडसेडिङ भइरहेको उल्लेख गर्दै उहाँले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

Back to top button