ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा हुनुहुन्छ । अध्यक्ष तेजविक्रम थापा नेपाली कांग्रेस तनहुँको नेतासमेत हो ।

४३ वर्षीय थापा २०५६ सालदेखि यो सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उहाँले अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत हात हालेको अनुसन्धानबाट खुलेको छ । थापा बैंकिङ कसुरका ५ वटा मुद्दामासमेत कसुर ठहर भई फरारको सूचीमा हुनुहुन्थ्यो ।

उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर) मा पनि उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा उक्त सहकारीको नाम रहेको छ ।

यस्तै,५६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरेको छ ।

बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरूले दिएको उजुरीको आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरूलाई शुक्रबार विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Back to top button