विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।

बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो ।

कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कृषि औजार वितरण गर्नुभयो । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको मेयर नागेश कोइरालाले बताउनुभयो ।

महानगर क्षेत्रभित्र पनि कृषकहरुको संख्या धेरै नै भएकाले उनीहरुको प्रोत्साहित गर्न कृषि औजार वितरण गरिएको मेयर कोइरालाले स्पष्ट पार्नुभयो ।

वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आर्थिक महाशाखाका प्रमुख दीपक पौडेल समेतको उपस्थितिमा भएको कार्यक्रममा महानगरले विराटनगर–१८ स्थित महिला बिऊ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नम्बर वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ ।

विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बिउ विजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।

Back to top button