पाँचथरमा अज्ञात समूहको कुटपिटबाट १ जनाको मृत्यु

विराटनगर । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए।

घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो। उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो ।

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको जनाइएको छ।

Back to top button