सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद्लाई जानकारी

काठमाडौं । नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराएको छ ।

आज एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको सूचना संसद सचिवालयलाई दिएको हो । योसँगै एमालेले प्रतिपक्षमा बस्ने जानकारी पनि दिएको छ ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले संसद् सचिवालयलाई पत्र लेख्दै एमाले प्रतिपक्षमा बस्ने जानकारी गराउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले दिएको सूचनामा भनिएको छ,‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन २०८१ असार १९ गते फिर्ता गरिएको छ।’

यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकिएकाले एमाले संसद्मा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ।

२०८१ असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो। एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह यसअघि नै गरिसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आउनुभएको छ ।

Back to top button