लायन्स क्लब अफ विराटनगर गुराँसको क्रिकेटर ऐरीसँग ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न

विराटनगर : लायन्स क्लब अफ विराटनगर गुराँस र लियो क्लब अफ विराटनगर गुराँसको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरीसँग ‘ मिट एण्ड ग्रिट ‘ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर स्थित हिमालय दर्शन कलेजमा आयोजित कार्यक्रमा क्रिकेटर ऐरीलाई क्लबले सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष माधव खतिवडाले लायन्स क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएका युवा प्रतिभालाई सम्मान तथा अन्तरक्रिया गर्ने क्लबको वार्षिक कार्यक्रम अन्तर्गत ऐरीलाई सम्मान गरिएको बताउनु भएको थियो ।

खतिवडाले समाजमा पिछडिएको तह र तप्काका व्यक्तिहरूलाई समाजिक सेवा मार्फत समाजको मूलधारमा जोड्ने प्रयासमा लायन्स क्लबले कार्य गरिरहेको समेत बताउनु भयो ।

क्लबले ऐरीलाई ढाका टोपी , दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरेको थियो भने हिमालय दर्शन कलेजका तर्फबाट सञ्चालक भेषराज पोखरेल माया चिनो प्रदान गरेर सम्मान गर्नु भएको थियो ।

कतार विरूद्ध ६ बल मा ६ छक्का र मंगोलिया विरुद्ध ९ बलमा अर्धशतक बनाएर विश्व रेकर्ड राख्न सफल ऐरीले आफूलाई विराटनगर आएर खुसी लागेको बताउँदै क्रिकेटमा भविष्य खोज्ने युवाहरूलाई क्रिकेट खेलेर नेपालमा आर्थिक रुपमा समेत सफल हुन सक्ने अवस्था निर्माण भइसकेको भन्दै प्रोत्साहन गर्नु भएको थियो ।

Back to top button