माओवादी केन्द्रका नेता भीम थापा मगर एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र आवद्ध नेपाल मगर संघ दोरम्बाका अध्यक्ष भीमबहादुर थापा मगर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापा मगर एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका सचिव योगेश भट्टराई, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो।

नेकपा माओवादीका बाग्मती प्रदेश सम्पर्क कमिटी सदस्य समेत रहनुभएका थापा मगर दोरम्बामा निकै प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ। उहाँले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार भएको र माओवादीबाट कम्युनिष्ट आन्दोलनको रक्षा हुन नसक्ने तथ्य स्थापित भइसकेको कारण एमाले प्रवेश गरेको बताउनुभयो।

देशको समृद्धि एमाले र केपी ओलीको नेतृत्वमा मात्रै सम्भव भएकोले सोही पार्टीमा समावेश भएको उहाँले जानकारी दिनुभयो।

‘माओवादी अवसरवादीहरुको झुण्डमा परिणत भयो, कम्युनिष्ट आन्दोलनको रक्षा हुन सक्दैन भन्ने निष्कर्षमा पुगेपछि नेकपा एमालेमा प्रवेश गरें। देशको समृद्धि नेकपा एमाले र केपी ओलीको नेतृत्वमा मात्रै सम्भव छ भन्ने तथ्य पनि स्थापित भइसकेकोले एमाले रोजें,’ थापा मगरले भन्नुभयो।

Back to top button