
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताउनुभएको छ ।
आज प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
‘संक्रमणकालीन न्याय टुंगोमा पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियाली रहेका छन्,’देउवाले भन्नुभयो,‘यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको छ। सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन्।’
उहाँले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।
सभापति देउवाले शान्ति प्रक्रियाका बाँकी रहेका काम संक्रमणकालीन न्यायको विषयले सम्बोधन गर्न कानुनका साथै सक्षम न्यायका आयोगहरू गठन गर्न आवश्यक रहेको औंल्याउनुभयो । विधयेक पारित नहुँदा पीडित स्वयम् र परिवारजनले थप पीडा भोक्दै आएको बताउँदै सभापति देउवाले विधेयक कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘समयमै संक्रमणकालीन न्याय नटुंगिदा द्वन्द्वकालमा भएका घटनाहरूले पीडा दिएको छ। लामो समयदेखि द्वन्द्व पीडितहरू न्यायको खोजिमा बसेका छन्। उचित परिपुरण नहुँदा पीडित स्वय र परिवारजनले थप पीडा भोक्नुपरेको छ,’उहाँले भन्नुभयो,‘विधेयक कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूलाई न्यायको अनुभूति गर्नेछ भन्ने विश्वास लिएको छु।’
उहाँले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनहरूलाई ध्यानमा राख्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू न्यायोचित ढंगले टुंगोमा पुग्ने बताउनुभयो। सहमतिमै विधेयक आएकाले अन्तर्राष्ट्रिय समुदाय र सरोकारहरूले स्वागत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सभापति देउवाले संविधान र व्यवस्था लाखौं नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको भन्दै यसको सही कार्यान्वयन, संरक्षण र सुदृढिकरण गर्नु सबैको दायित्व भएको धारणा राख्नुभयो ।







