
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज (बुधबार)साँझ सार्वजनिक गर्ने तयारी रहेको बताउनुभएको छ ।
आज काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको बताउनुभयो।
महामन्त्री थापाले भन्नुभयो,‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दै छौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन। संसद्ले सँगै काम गर्नुपर्छ।’
उहाँले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताउनुभयो । महामन्त्री थापाले शिक्षा ऐन दसैँ–तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताउनुभयो।
यस्तै, उहाँले शिक्षाबारे काम गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल रहेका समूह बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो।







