रविलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएको लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । अदालतमा उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै लामिछानेलाई थुनामा पठाइने तयारी प्रहरीको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । त्यस आदेश बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो । उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि उहाँलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो ।

Back to top button