माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन वैशाख ७ गने हुने

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो सम्मेलन वैशाख ७ गते विराटनगरमा हुने भएको छ । महानगर समितिले आज पत्रकार सम्मेलन गर्दै वैशाख ७ र ८ गते दोस्रो सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

महानगरका अध्यक्ष नवीन पौडेलले महानगरको दोस्रो सम्मेलनको उद्‌घाटन वैशाख ७ र बन्द सत्र ८ गते हुने जानकारी दिनुभयो । सम्मेलनको उद्‌घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने हुनुभएको छ ।

दोस्रो सम्मेलनका वडा स्तरबाटै प्रतिनिधि छनौट भइसकेको छ । ३ सय ५६ जना प्रतिनिधिले ९९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।

चयन भएका ९९ सदस्यबाट १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, १ जना सहसचिव र १ जना कोषाध्यक्ष चयन गर्दै नयाँ समिति बन्ने छ ।

सम्मेलनका लागि ३ सय ५६ जना प्रतिनिधिसहित ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक छनौट भइसकेका छन् ।

Back to top button